काठमाडौंको तारकेश्वरमा बर्डफ्ल्यू पुष्टि :२३ सय पन्छी नष्ट

२०७७ माघ,१७ शनिबार
काठमाडौं । काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । पशु सेवा विभागले बर्ड फ्लुको संक्रमण पुष्टि भएको काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङलेखोला फुटुङ क्षेत्रका घरपालुवा पन्छी, अण्डा र दाना नष्ट गरेको जानकारी दिएको छ ।
त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन पशु स्वाथ्यकर्मीहरु लाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी वस्तु समेत नष्ट गरिको छ ।
यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।
भारतका विभन्नि राज्यमा बर्ड फुलु देखिएपछि सरकारले भारतबाट पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसारमा बन्देज लगाएको छ । सो प्रतिबन्धलाई पूर्ण रुपमा पालना गर्न समेत विभागले आग्रह गरेको छ ।