प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज

फिल्को मिसन

२०७७ माघ,२५आईतबार
विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
बैठक अघि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।
यता, प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले १६ जना प्रदेशसभा सदस्य कारवाहीको विषय बन्द भइसकेको बताउनुभयो । प्रचण्ड–नेपाल समूहका नेता आङ्बोले आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने बताउनुभयो । हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले अरु बिजनेश दिएको छैन ।
त्यसैले संसद्को एकमात्र विजनेशको रुपमा रहेको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्ने आङ्बोको भनाइ छ । प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपाली काँग्रेसले संकेत गरेको छ । यसअघि प्रदेशसभा बैठकको अर्काे मिति तय गर्ने विषयमा सभामुख भण्डारी र मुख्यमन्त्री राईबीच छलफल गरेर अगाडि बढ्ने सहमति गर्दै प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र पढेर बैठक स्थगित भएको थियो ।
प्रचण्ड(माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको बताउँछन् । पहिलो बैठकमा प्रवेश गरेपछि कारबाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले भने, ‘कारबाही उहाँहरुको राजनीतिक प्रपोगाण्डा मात्रै हो ।’ प्रचण्ड(माधव समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड(माधव समूहले निलम्बनको विषय उठाएको छैन ।
आजका लागि बोलाइएको बैठक कसरी सञ्चालन गर्ने भन्ने अन्योल छ । गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये पाँच जना हस्ताक्षर फिर्ता गर्दै ओली समूहमा लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस