ओली इतिहासमै विफल नेता हुन : प्रचण्ड

फिल्को मिसन

२०७७ माघ,१६सोमबार
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै विफल बनेको बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा प्रचण्डले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताउनुभयो ।
पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्धको सङ्घर्षमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो ।हाम्रो लडाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो, उहाँले भन्नुभयो । अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै प्रचण्डले ओली जनताबाट टाढिएको दाबी गर्नुभयो । आफुहरु जनताको र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गएको प्रचण्डको भनाइ छ ।
पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको प्रचण्डले बताउनुभयो । अध्यक्ष प्रचण्डले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस