नेकपाको प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्दै

फिल्को मिसन

२०७७ माघ,२८बधबार
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीचमा एकअर्काविरुद्ध प्रदर्शन गर्ने प्रतिस्पर्धा नै चलेको छ ।प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको प्रदर्शनका लागि बिहान ११ बजे काठमाडौँका विभिन्न स्थानबाट जुलुश निकालिनेछ ।

बिभिन्न स्थानबाट निस्कने जुलुश भृकुटिमण्डपमा सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । मुख्य जुलुस भने सुन्धाराबाट निस्ने जनाइएको छ । आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालले सीआईएनसँगको कुराकानीमा दावी गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन गर्न लागेको हो । यही माघ २३ मा भने नेकपा ओली समूहले नारायणहिटीअगाडि शक्ति प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । ओली र प्रचण्ड–नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस