प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको शक्ति प्रर्दशन
२०७७माघ,२८बुधबार
प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभा आयोजना गरेको छ । कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने बताउनुभयो ।
प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताउनुभयो । त्यस्तै नेता शर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताउनुभयो ।
यस्तै, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको वास्तविक चुनाव नभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आन्दोलनले खारेज गर्ने दाबी गर्नुभयो ।
केपी ओलीले चुनाव गर्न घोषणा गरेको पनि होइन, चुनाव नगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्र विरोधी भएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमनविरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं श्रेष्ठले भन्नुभयो ।सारा लोकतन्त्रवादीहरु चुनावको पक्षमा रहेको प्रस्ट्याउँदै नेता श्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्य नहुने बताउनुभयो । संविधानलाई घात गर्ने चुनाव, संविधानलाई अपहरण गरेर संविधानलाई घात गर्ने संविधानविरोधी चुनाव हामीलाई चाहिएको होइन, त्यो लोकतन्त्र अन्तर्गतको चुनाव होइन, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
यस्तै नेता रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध बोल्न पाउनुपर्ने बताउनुभयो । नेता झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यस विरुद्ध बोल्ने बताउनुभयो । हजारौं शहिद, घाइतेहरुकोयोगदानबाट प्राप्त भएको उपलब्धि एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्ने हो, झाक्रीले भन्नुभयो । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ ।