निर्वाचन आयोग पुगे प्रचण्ड माधव समूहका नेताहरु

फिल्को मिसन

२०७७ फाल्गुन,२० विहीबार
काठमाण्डौं । नेकपाको प्रचण्ड नेपाल समूहका नेताहरुले आधिकारिकता विवाद छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई ध्यानकर्षण गराएका छन् । बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको थियो ।
हिजो बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले आयोगको पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय गरेको थियो ।
त्यसैअनुसार स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे लगायत नेता आयोग पुगेको समूहका कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । हिजोको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यता बमोजिम तत्काल निष्पक्ष एवम् न्यायसङ्गत निर्णय गर्नपर्ने ठहर गरेको थियो ।
प्रचण्ड नेपाल समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रिया अनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस