दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान देशैभरि आजबाट सुरु

फिल्को मिसन

२०७७ फागनु,२३आईताबार
काठमाण्डौं । सरकारले आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाइने छ । दोस्रो चरणको खोप अभियनको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आज बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउनुहुनेछ ।
यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि सरकारले खोप तालिका परिवर्तन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि देशभर ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।
माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड नामक खोप अहिले चरणवद्ध रुपले मानिसहरुलाई लगाउँदै आएको छ । सरकारले सुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा सहभागि भएकामध्ये कसैलाई पनि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । सरकार र विज्ञहरुले बारम्बार कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकाले सबैलाई निर्धक्कसाथ कोरोना विरुद्धको खोप लगाउन अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस