प्रचण्ड–माधव समूहद्वारा संसद बैठक बहिस्कार

२०७७ फागुन,२३आइतबार
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका छन ।
बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।
तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए ।
सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका छन ।