नयाँ अकोराबका पदाधिकारीले गरे पदभार ग्रहण
२०७७फागनु,२८शुक्रबार
काठमाण्डौं ।सामुदायिक रेडियो प्रसारक संघ अकोराबका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । हिजो भएको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले आज अकोराबको ललितपुर स्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा अकोराबका पूर्व अध्यक्ष तथा योजना आयोगका सदस्य मीन शाहीले सामुदायिक रेडियोको मर्म र भावना अनुसार नीति बनाउन पहल गर्न सुझाव दिनुभयो । नेपालको सामुदायिक रेडियोको अभियान धेरै दुःख गरेर यहाँ सम्म ल्याइर्पुयाएको भन्दै उहाँले योजना आयोगको १५ औँ योजना अनुसार पनि बहस तथा पैरवी गर्न आग्रह गर्नुभयो ।
अकोराबका अर्का पूर्व अध्यक्ष मोहन चापागाईँले अकोराबले सधैभरि सामुदायिक रेडियोको हकहितको लागि लडिरहेको स्मरण गर्दै अब पनि समावेशी र सहभागितामूलक चरित्रलाई नभूल्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष गिरिले देशभरका सामुदायिक रेडियोलाई अझैँ प्रभावकारी बनाउनको लागि सम्भव भएका सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियो अभियानका क्रममा देखिएका केही असन्तुष्टिलाई सम्वोधन गर्दै सबैलाई समेटेर अगाडि जाने पनि उहाँले उल्लेख गर्नुभयो । पदभार ग्रहणपछि कार्यसमितिको पहिलो बैठक पनि आजै बसेको छ । अध्यक्ष अर्जुन गिरि, महासचिव किशोरजङ्ग थापा, कोषाध्यक्ष सरोज पौडेल लगायत पदाधिकारीले पदभार ग्रहण गर्नुभएको हो । अकोराबको हिजो सकिएको सातौँ अधिवेशनले गिरिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।