एकभन्दा बढी खाता खोल्न नपाइने स्थानीय तहलाई निर्देशन

२०७७ चैत३ ,मंगलबार
हुम्ला । स्थानीय तहलाई सञ्चिति कोषलगायतका खाता एउटै बैंकमा खोल्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । कतिपय स्थानीय तहले १ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा पछिल्लो पटक सहमति प्राप्त बैंकबाहेकका खाता बन्द गर्न महालेखाले निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत गरिएको परिपत्रअनुसार स्थानीय तहहरूको ‘ग’ समूहको खाता सञ्चालन गर्दा सञ्चित कोषलगायत सम्पूर्ण खाता एउटा मात्र बैंकमा हुनुपर्ने प्रावधान छ ।
कतिपय स्थानीय तहको खाता एउटाभन्दा बढी बैंकमा खोलिएको हुँदा पछिल्लो पटक सहमति प्रदान भएको बैंकमा मात्र खाता सञ्चालन हुने गरी साविकका बैंकमा भएका खाता बन्द गर्ने व्यवस्था मिलाइनेछ । सरकारी कारोबार निर्देशिका, २०७६ अनुसार संघ, प्रदेश र स्थानीय तहका खातालाई सांकेतिक रूपमा क्रमशः क, ख,र ग गरी ३ समूहमा विभाजन गरिएको छ । स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सिफारिस लिएर मात्र यस्तो खाता खोल्न पाउने व्यवस्था छ । ‘ग’ समूहमा आन्तरिक राजस्व, बाँडफाँटबाट प्राप्त राजस्व, आन्तरिक अनुदान, वैदेशिक सहायता अनुदान, वित्तीय व्यवस्था तथा ऋणलगायतका खाता सञ्चालन गर्न सकिने भए पनि कतिपय स्थानीय तहले फरक–फरक बैंकमा खाता खोल्ने गरेका छन् ।