हुम्लाका लागि प्रदेश सरकारले २२ वटा योजना

२०७७ चैत्र,३ मंगलबार
हुम्ला । कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचित हुने प्रदेश सांसदले आफ्नो क्षेत्रको पूर्वाधार विकासका लागि प्रत्येक आर्थिक वर्षमा पाँच करोड खर्च गर्ने गरेका छन् ।
यो कार्यक्रमलाई “कर्णाली प्रदेश पूर्वाधार विकास कार्यक्रम” भनेर चिनिन्छ । हुम्लामा दुई प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।
यो कार्यक्रम अन्तर्गत हुम्ला जिल्लाको ‘ख’ निर्वाचन क्षेत्रमा खार्पुनाथ, सिमकोट र नाम्खा तीन वटा गाउँपालिका रहेका छन् । यो आर्थिक वर्षमा यो निर्वाचन क्षेत्रमा २२ योजना छनौट गरिएको छ । पाँच करोडको सीमाभित्र रहेर चार भबन, चार सडक र पुल, एक विद्युत, दुई तटबन्ध, दुई सिचाई, दुई खोपानी, चार धार्मिक स्थल मर्मत सम्भार, दुई मील र एक ढल निर्माणका लागि न्यूुनतमा १० लाखदेखि अधिकतम ५५ लाखसम्मको रकम विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख देवी ऐडीले जानकारी दिनुभएको छ ।यो निर्वाचन क्षेत्रमा भबनका लागि कुल ९५ लाख बजेट विनियोजन गरिएको छ । यसका दुई विद्यालय, एक खार्पुनाथ गाउपालिकाको आवासीय भबन र एक विद्यालय घेरवार रहेको छ ।सडक र पुलका लागि चार योजना छनौट गरिएको छ । यसमा हिल्छा किट सडक, हल्जीदेखि तीलगाउँ जाने पुल,, लाली गाउँदेखि लाली बगरसम्मको बाटो र सनभ्यालीदेखि रल्लिङ्गचोकसम्मको सडक रहेका छन् । यसका लागि एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।हेप्का स्यारोल पहिरो र पारीखोला बस्ती तथा स्वास्थ्य चौकी पहिरो नियन्त्रण रहेका छन् । यसका लागि २० लाख बजेट रहेको छ । साथै कुरील्ला मुलपानी जलविद्युतका लागि १० लाख बजेट विनियोजीत गरिएको छ ।
खानेपानी तथा ढल निकासको तीन योजनाका लागि ३५ लाख बजेट रहेको छ । जसमा लिमाटांग ढल निर्माण, साँधुराघाँटीदेखि औलढेलसेरासम्मको खानेपानी तथा ढल निकास र कालाडाँडा भुलभुलेदेखि कोटपोरीसम्मको खानेपानी योजना रहेका छन् ।
यसै गरी दुई सिंचाई योजना रहेका छन् । यसका लागि २० लाख बजेट रहेको छ । यसमा पारीजिउला सिंचाई कुलो र कालोमुलदेखि लेखमाँजा तुम्लीङ सिंचाई रहेका छन् ।
दुई स्थानमा मिल स्थापना तथा मर्मत सम्भारका लागि २५ लाख बजेट छुट्याइएको छ । जसमा ठेहे गाउँ र हिल्दुम गाउँको दुई स्थान रहेको छ । चार वटा स्थानमा मठमन्दिर निर्माण मर्मत सम्भारका लागि एक करोड ३० लाख रकम रहेको छ । जसमा खार्पुनाथ शिवालय, हल्जी गुम्बा, फेजलिंग गुम्बा र नाम्डुक गुम्बा रहेका छन् । “कर्णाली प्रदेश पूर्वाधार विकास कार्यक्रम”बाट यस जिल्लाको पूर्वाधार विकासमा केही मात्रामा भए पनि सहयोग पुग्ने आशा गरिएको छ । यो निर्वाचन क्षेत्र कर्णाली प्रदेशका प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवन बहादुर शाही विजय भएको हुम्लाको ‘ख’ प्रदेश निर्वाचन क्षेत्र पनि हो ।