जहाँ हरेक घरमा विमान छन्, अफिस जान पनि विमानमा जान्छन्

एजेन्सी

२०७७ चैत,६शुक्रबार
काठमाडौं। कुनै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य भइसक्यो । तर, टोलका सबैसँग हवाइ जहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने कुरा चाहिँ अलि असामान्य लाग्छ । तर, अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुको लागि भने यो निकै सामान्य कुरा हो ।

यो मानिसहरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् । यहाँका घरहरुमा कार राख्ने ग्यारेजजस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो । यो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४ घरहरु छन् । यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो ।

क्यामरुन पार्क एयरपोर्टका म्यानेजर केभिन कुक्सीले इनसाइडरसँग कुरा गर्दै यहाँका सडकहरु एयरपोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सडकमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति फराकिला बनाइएका हुन् । यहाँ सडक संकेत र चिठीका बाकसहरु सामान्यभन्दा निकै होचो बनाइएका छन् ताकि यी संकेतहरु विमानको पखेटासँग नठोक्किउन् । यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् ।

रहरले पाइलट बनेका बर्ल स्केग्स २००३ मा बे एरियाबाट क्यामरुन एयरपार्कमा बसाइ सरेका हुन् । आफूले सानो विमान किनेपछि उनी यहाँ सरेका थिए । त्यसपछि आफूले जागिरबाट अवकाश पाउँदासम्म ७ वर्षसम्म उनी पालो अल्टोमा जागिरमा जाँदा हरेक दिन बिहान जहाजमा जान्थे र बेलुका जहाजमै फर्किन्थे । उनी मेकानिकल इन्जिनियरको काम गर्थे ।डिस नेपाल अनलाइनबाट साभर

प्रतिक्रिया दिनुहोस