वायु प्रदुषणका कारण आन्तरिक उडान ४० प्रतिशत प्रभावित
२०७७ चैत,१७ मंगलबार
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत मुलुकभरका सहरमा वायु प्रदुषणको मात्रा एक्कासी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशत प्रभावित भएको छ । जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि गत शुक्रबारदेखि तुवाँलोले ढाकेपछि उडानहरू प्रभावित भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार गत आइतबार १ सय ९ वटा उडानमध्ये ४१ वटा उडान रद्द भएका थिए भने शनिबार १ सय १५ उडानमध्ये ५० वटा उडान रद्द भएका थिए । तुवाँलोकै कारण अन्तराष्ट्रियभन्दा पनि आन्तरिक उडान प्रभावित बनेको उहाँको भनाइ छ । जहाज उडान र अवतरणका लागि पाँच किलोमिटर र यान्त्रिक उडानका लागि १६ सय मिटर पारदर्शिता आवश्यक हुन्छ ।
तर दुई किलोमिटर र यान्त्रिक उडानका लागि पाँच सय मिटरसम्म पारदर्शिता कम भएको विमानस्थलले जनाएको छ । लामो समय सुख्खा भएको र पानी नपरी हावा नचलेपछि उपत्यकालगायतका मुख्य सहर धुम्म हुँदै आएको छ ।