कर्णालीमा तीन मन्त्रीले फेरि लिए शपथ

भिम परियार

२०७८ बैशाख १५, बुधबार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
तीनै जनालाई बुधवार (आज) कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो ।यही वैशाख ३ गते बसेको प्रदेश सभा बैठकमा नेकपा एमालेको निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन मन्त्रीले विश्वासको मत दिएका थिए । उनीहरूलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उनीहरूले वैशाख ५ गते प्रदेश प्रमुख कलौनी समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।
पार्टी निर्देशन विपरीत ’फ्लोर क्रस’ गरेको आरोप लगाउँदै एमाले प्रदेश सभा दलले तीनै जनालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेश सभा सचिवालयलाई गरेको थियो । त्यहीअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू पदमुक्त भएको जानकारी दिनुभएको थियो ।
पदमुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई आज फेरि प्रदेश प्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस