फास्ट ट्र्याकको ठेक्का रोक्न सेनालाई लेखा समितिको पत्र

२०७८बैशाख,१६ विहीबार
काठमाण्डौं। नेपाली सेनालाई फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
लेखा समितिले खरिद प्रक्रिया रद्द गरी कागजात उपलब्ध गराउन नेपाली सेनालाई पुनः ताकेता गरेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । समितिले यसअघि तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभएपछि नेपाली सेनालाई सीधै पत्र लेखेर ठेक्का प्रक्रिया रोक्न र कागजात उपलब्ध गराउन भनिएको पाण्डेको भनाइ छ । फास्ट ट्रयाकको दोस्रो प्याकेज अन्तर्गतको टनेल र पुलको ठेक्का प्रक्रियाको प्रि–क्वालिफाइड मै अनियमितताको शंका गर्दै चैत १९ गते लेखा समितिले ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देश गरेको थियो ।समितिले चैत १९ पछि वैशाख ६ गते र बैशाख ९ गते रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको थियो ।