नेपाल पक्षका युवाले दिए निर्वाचन आयोगमा दल दर्ता निवेदन
२०७८जेठ,९ आईतबार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
नेकपा (एमाले)का दुई पक्षबीच विवाद चर्किरहेको बेला वरिष्ठ नेता माधव कुमार नेपालनिकट एक युवाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियूका पूर्व युवा नेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिन्ह ‘कलम’राखिएको छ ।
राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता हुन् । सङ्खुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । २५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलको उपाध्यक्षमा कल्पना गुरुङ, विनोद कुमार खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशिला खनाल कोषध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेस गरेको कागजात अध्ययन गर्ने काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।