कोरोना संक्रमणदर १७ प्रतिशतमा झर्‍यो

फिल्को मिसन

२०७८ असार, १२ शनिबार
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर १७ प्रतिशतमा झरेको छ। दोस्रो लहर कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा पहिलोपटक जारी गरेको निषेधाज्ञाको दुई महिनापछि संक्रमणदर आधाभन्दा बढीले न्यून विन्दुमा झरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएको थियो। तीमध्ये दुई हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उक्त संख्या कूल परीक्षणको १७.२५ प्रतिशत हो।

निषेधाज्ञा सुरु भएको दिन अर्थात् गत वैशाख १६ मा यस्तो संक्रमणदर ३६.३४ प्रतिशत थियो। उक्त दिन १३ हजार ५६० जनाको परीक्षण गर्दा चार हजार ९२८ जनामा संक्रमण पुष्टि भएको थियो।
वैशाख २६ मा बढेर संक्रमणदर ४५.६५ प्रतिशतमा पुगेको थियो। उक्त दिन १९ हजार ३८७ जनाको परीक्षण गर्दा आठ हजार ८५० जना संक्रमित पहिचान भएका थिए।

वैशाख मसान्तसम्म उच्च बनेको संक्रमणदर जेठ पहिलो हप्ताबाट केही न्यून बन्दै आएको थियो। त्यसबीचमा दैनिक संक्रमणदर घटबढ भएका थिए।

जेठ ६ मा संक्रमणदर ३७.६० प्रतिशत रहेकोमा जेठ १६ मा ३४.२१ प्रतिशत कायम भएको थियो। जेठ २६ मा २६.१५ प्रतिशत, असार ६ मा २२.३५ प्रतिशत हुँदै आज (असार ११) संक्रमणदर १७.२५ प्रतिशतमा आइपुगेको छ।

 

प्रतिक्रिया दिनुहोस