रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन

फिल्को मिसन

२०७८असार २०आइतबार
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ । ६८ वर्षीय बर्माको उपचारका क्रममा गएराती मेडिसेटी अस्पताल, काठमाण्डौंमा निधन भएको हो ।
रामनगर गाउँपालिका वडा नं. १ खैर्बा निवासी बर्मा स्वास्थ्यमा समस्या देखिएपछि असार १४ गते उपचारका लागि काठमाण्डौं लगिएको थियो । बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ जिल्लामै र जनकपुरमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौं जानुभएको थियो । तीनपटक सम्म साबिकको खैर्बा गाविसको अध्यक्ष र अहिले गाउँपालिकाको अध्यक्ष हुनुभएका बर्माको निधनपछि पूरै गाउँपालिकावासी शोकमग्न भएका रामनगर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष दिनेश मिश्रले बताउनुभयो ।
बर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दिवंगत बर्माकी श्रीमती सुधा बर्मा पनि बिरामी पर्नुभएको छ । उहाँको मेडिसेटी अस्पतालकै आइसियूमा उपचार चलिरहेको नेपाली काँग्रेसका नेता एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस