आमसञ्चार प्रतिष्ठान विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै सरकारको ध्यानाकर्षण

फिल्को मिसन

२०७८ असार २४ गते बिहबार
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको ‘आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक’ प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघले बिहिबार सभामुख राजबहादुर शाही र आन्तरीक मामिला तथा योजनामन्त्री सीता नेपालीलाई ज्ञापनपत्र बुझाउँदै सरकारले प्रदेश सभामा दर्ता गरेको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवम् स्वतन्त्र पत्रकारिताको मान्यता विपरित रहेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।
महासंघले ज्ञापनपत्र मार्फत विधेयकको परिच्छेद ३ मा व्यवस्था भएको सूचना प्रविधी तथा आमसञ्चार प्रतिष्ठान परिषद्को अध्यक्ष मन्त्री र सदस्यहरुमा सरकारकै विभिन्न मन्त्रालयका सचिवहरु रहने प्रावधानको बिरोध गरेको हो । महासंघले पत्रकारीता क्षेत्रमा क्रियाशिल स्नातकोत्तर उत्तिर्ण गरेको व्यक्तिलाई परिषद्को नेतृत्व दिनुपर्ने, कार्यकारी निर्देशकको नियुक्ति र कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने प्रावधानहरुलाई पुनर्विचार गर्नुपर्ने माग समेत गरेको छ । त्यसैगरि आम सञ्चार प्रतिष्ठानमा नेपाल पत्रकार महासंघको अध्यक्षको प्रतिनिधित्व सुनिश्चितता गर्न पनि महासंघले जोडदार माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै सभामुख राजबहादुर शाहीले महासंघले उठाएका विषयहरुलाई आफूले गंभीर रुपमा लिएको पत्रकार महासंघका मागहरु पुरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै मन्त्री सीता नेपालीले पनि महासंघका मागहरु पुरा गर्न आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरीन् । त्यस्तै महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सरकारको कदम सकारात्मक भएपनि विधेयकका केही प्रावधान प्रेसमैत्री नभएकाले त्यस्ता प्रावधान सच्याउन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस