आर्थिक अवस्था समेटेर सरकारले श्वेतपत्र जारी गर्ने

२०७८ साउन १ गते शुक्रबार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताएका छन्।शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका हुन्। सरकारले मुलुकको अर्थतन्त्रलाई चित्रण गर्ने र भविश्यका योजनासमेत समेट्दै श्वेतपत्र जारी गर्ने भएको छ । विद्यमान अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुनेगरी श्वेतपत्रको तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्वेतपत्रमा हालको देशको अर्थतन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमका सम्बन्धमा समावेश गरिने उल्लेख छ ।
अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताए। पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुनेगरी नीति निर्माण गर्ने उनले बताए। उनले भने, ‘पुँजीबजार लगायतका समस्याहरू छन्। त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्ने बारेमा पनि हामी नीति, निर्माण गर्नेछौँ।’ सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताइने पनि उनको भनाइ छ।