बाजुरामा अझै पुगेन पाठ्य पुस्तक

फिल्को मिसन

२०७८श्रावण ४गते, सोमबार
बाजुरा । शैक्षिक सत्र शुरु भएको एक महिना बितिसक्दा पनि बाजुराका सामुदायिक र संस्थागत विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
कोरोना महामारीका कारण दुई महिना ढिलो गरी शुरु भएको शैक्षिक सत्रको एक महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपुग्दा बालबालिकाले घरमै बसेर पनि पढ्न पाएका छैनन् । कोरोना भाईरसका कारण बन्द अवस्थामा रहेका ग्रामिण क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय आंशिक रुपमा सञ्चालनमा आएपनि पाठ्यपुस्तकको अभाव देखिएको छ ।
शम्भु सुनन्दा माध्यमिक विद्यालयका छात्रा साहारा शाही अझै पनि कतिपय बिषयको पुस्तक नपुगेको गूनासो गर्नुहुन्छ । असार १ गते देखि शैक्षिक सत्र शुरु गरेर हाल भर्नाको काम गरिरहेका विद्यालयले पाठ्यपुस्तक भने वितरण गर्न सकिरहेका छैनन् ।
विद्यार्थी भर्ना हुन आउँदा नै पाठ्यपुस्तक दिनु पर्ने भए पनि पाठ्यपुस्तक उपलब्ध नहुँदा समस्या भएको स्वामीकार्तिक माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक नहकुल जोशीको भनाई छ । कक्षा २ ,३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागु भएकाले अहिले पुराना पाठ्यपुस्तक वितरण गर्ने अबस्था छैन । लामो समय देखि नियमित हुन नसकेको विद्यार्थीको पढाई पाठ्य पुस्तक अभावले झनै प्रभावित भएको बुढिनन्दा आधारभुत विद्यालयका प्रधानाध्यापक बिर्जन बहादुर शाहीको भनााइ छ ।

प्रतिक्रिया दिनुहोस