दुर्गममा अझै पुगेन पाठ्यपुस्तक

फिल्को मिसन

२०७८श्रावण,१०गते आइतबार
सिमकोट । नयाँ शैक्षिक सत्र शुरु भएको तिन महिना पुगिसक्दा पनि हुम्लाका सातैवटा गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।
किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका अधिकाँस गाउँपालिकामा रहेका विद्यालयले शैक्षिक सत्र शुरु भएको ४महिना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् । सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले केहीबाहेक अन्य पाठ्यपुस्तक जिल्लामा आइनपुगेको जानकारी दिए।

उनले नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यालयको पाठ्यपुस्तक ढुवानी जिम्मा पाएको रोकाया पुस्तक पसलले केही पुस्तक मात्र पु¥याएको बताए। कोरोनाका कारण विद्यालय सञ्चालनमा आउन नसके पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक परेको भए घरमै अध्ययन गर्न सकिने विद्यालयले जनाएका छन्। यी तीन वटा गाउँपालिकामा ५८ वटा विद्यालय छन्।
यी गाउँपालिकाका लागि नेपालगञ्जदेखि हवाईमार्गबाट पुस्तक ढुवानी हुने गर्छ। जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा पनि पाठ्यपुस्तक नपुगेको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए। उनले हालसम्म पुस्तक नपुगेपछि गाउँपालिकाले ढुवानीकर्तालाई ताकेता गरेको बताए।
सो गाउँपालिकामा साउन १५ गतेबाट विद्यालय सञ्चालनमा आउँदैछन्। गाउँपालिकाका १८ वटा विद्यालयका लागि गौरीशंकर सप्लायर्सले जिम्मा लिएको छ। अदानचुलीका स्थानीय कालीबहादुर थापाले पनि विद्यालयमा पाठ्यपुस्तक आइनपुगेको बताए। अदानचुलीमा २१ वटै सामुदायिक विद्यालय छन्।

सर्केगाड र चंखेली गाउँपालिकामा पनि पाठ्यपुस्तक आइपुगेको छैन। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णुबहादुर शाहीले एक महिनादेखि गत वर्षकै पाठ्यपुस्तक ढुवानीकर्तालाई सुर्खेत र नेपालगञ्जबाट ढुवानीको व्यवस्था मिलाउन आग्रह गरेपनि हालसम्म सुनुवाई हुन नसकेको जानकारी दिए।उनले केही ढुवानीको जिम्मा लिएका सप्लायर्स सम्पर्कमा समेत नआएको बताए। जिल्लाका विद्यालयमा १६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

जिल्लाका लागि चार वटा सप्लायर्सले पाठ्यपुस्तक ढुवानीको जिम्मेवारी लिँदै आएका छन्। जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले हुम्लाका लागि दुई वटा सप्लायर्सले सुर्खेतमा पुस्तक बुझेर बोरामा प्याकिङ गरे पनि हालसम्म नउठाएको बताए।

उनले बाँकी दुई वटा सप्लायर्सले भने नेपालगञ्जमा पाठ्यपुस्तक बुझेको उल्लेख गरे। कोरोनाका कारण विद्यालय बन्द भए पनि पाठ्यपुस्तक ढुवानीको व्यवस्था गरेर विद्यार्थीको हात–हातमा पुस्तक पु¥याउनुपर्ने निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको थियो।

प्रतिक्रिया दिनुहोस