जसपा आधिकारिता विवादः निर्वाचन आयोगले आज टुंगो लगाउँदै

फिल्को मिसन

२०७८श्रावण,११ सोमबार
काठमाडौं ः निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे निर्णय गर्ने भएको छ। आयोगको निर्णय आउने निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटिरहेका छन् ।
आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित उपस्थित हुन भनेको छ। आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ।
उपेन्द्र यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको थियो।
संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका थिए । उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खानापछि सिधै निर्वाचन आयोग लैजाने योजनामा यादव पक्ष रहेको योजन रहेको छ ।
यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरे पनि गोदावरीमा भने ३१ जना कार्यकारिणी सदस्य र सांसदको रुपमा २१ जनाको उपस्थिति रहेको जनाइएको छ।
यता ठाकुर पक्षले पनि आइतबार नै आफ्नो पक्षको बैठक राखेको थियो। बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल भएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ। कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेकोमा अस्वीकार भएको छ।

 

प्रतिक्रिया दिनुहोस