जहाजको टिकट वितरण जुम्लामा एजेन्टकै हालीमुहाली

दिलमाया शाही

२०७८श्रावण,११ सोमबार
जुम्ला । जुम्लामा दैनिक दिन उडना हुने हवाइसेवा अस्तव्यस्त हुनुको साथै टिकट वितरणमा एजेन्टकै हालीमुहाली छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ।
तर, लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन्। एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल) अनुसार उडान हुने फाइदा नागरिकले लिन पाएका छैनन्।
जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भएपनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन्। एजेन्टले यात्रु दुवैतर्फ हुँदा उडान गर्ने र एकतर्फीमात्रै हुँदा पनि महङ्गो भाडा उठाउने गरेको गुनासो सर्वसाधारणको छ । तालिका (सेड्यूल) अनुसार हुने उडान र चार्टर उडानमा कुनै भिन्नता नभएको यात्रुहरूको गुनासो छ।
नेपालगञ्जबाट खाली आउनुपर्ने वहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेको उनीहरूले बताउने गरेका छन्। यसले गर्दा यहाँका जनताले तालिका (सेड्यूल) अनुसार उडान भर्ने हवाइजहाजको फाइदा दिन पाएका छैनन्।
यात्रुले गरिरहेका गुनासोबारे समिट एयरलाइन्सका स्टेशन म्यानेजर सन्तोष शाही भन्छन्, ’यसमा हाम्रो कुनै हात हुँदैन। हामी आफैँ टिकट पाउँदैनौँ। निजी विमान कम्पनी एजेन्टसँग सम्झौता गरेको हुन्छ।

प्रतिक्रिया दिनुहोस