सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

फिल्को मिसन

२०७८ श्रावण,१४विहीबार
काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्दैछ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
बैठक अहिले केहीबेरमा बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताईएको छ ।
गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ । यसअघि हिजो बिहान बसेको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीको आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्र बनाएका छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भैरहेको छ । आजको छलफलमा शक्ति बाँडफाँडबारे कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने खड्काले बताए । मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुनेमा शीर्ष नेताहरुमा एक मत रहेकाले चाडै नै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस