उखु किसानहरुले रकम भुक्तानी गरिदिन सरकारलाई आग्रह
२०७८ श्रावण,१४ गते बिहीबार
काठमाण्डौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाएपछि फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु किसानहरूले रकम भुक्तानी गरिदिन सरकारलाई २२ दिने अल्टिमेटम दिएका छन् ।
सरकारले आफूहरूको बक्यौता भुक्तानी चिनी मिलबाट भदौ ५ गतेसम्म नदिलाए पुनः आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै सरकारलाई अल्टिमेटम दिएका हुन् ।
संघर्ष समितिका अनुसार उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगाइएको उनीहरुको भनाई छ ।
उखु किसानहरूको दावी अनुसार ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी छिनोफानो गर्न भने पनि रकम नदिलाइएको छैन । उखु किसानहरूसँग सम्बन्धित अन्य समस्याको बारेमा सम्झौता भएको १ सय २० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनि पनि नगरिएको समितिले बताएको छ ।