भारतमा ७० प्रतिशतमा एन्टीबडी पाइएको दावी
२०७८ श्रावण,१४ गते बिहीबार
एजेन्सी। भारतमा गरिएको एक सिरो सर्वेक्षणमा ७० प्रतिशत जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टीबडी रहेको पाइएको छ ।
सर्वेक्षणमा भारतको ८ ठूला राज्यका ७० प्रतिशत जनसङ्ख्यामा एन्टीबडी रहेको पाइएको हो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको चौथो चरणको सिरो सर्वेमा छुट्टा–छुट्टै राज्यका जनसङ्ख्यामा एन्टीबडी पाइएको जानकारी दिएको हो ।
यस वर्षको जुन र जुलाई महिनाको बीच करिब २९ हजार मानिसमा यो सर्वेक्षण गरिएको थियो । त्यसअनुसार मध्य प्रदेशमा करिब ७ करोड जनसंख्यामा ७९ प्रतिशत, बिहारमा ७५ प्रतिशत, उत्तर प्रदेशका ७५ प्रतिशत, राजस्थानमा ७६ दशमलव २ प्रतिशत, गुजरातमा ७५ दशमलव ३ प्रतिशत, छत्तीसगढमा ७४ दशमलव ६ प्रतिशत, आन्ध्र प्रदेशमा ७० दशमलव २ प्रतिशत, महाराष्ट्रमा ५८ प्रतिशत र असाममा ५० दशमलव ३ प्रतिशत जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टीबडी पाइएको हो ।