न्यायलयमा न्यायाधीशको नियुक्ति नै भ्रष्ट

फिल्को मिसन

२०७८श्रावण १५,शुक्रबार

काठमाण्डौं । न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएदेखि नै भ्रष्टाचार हुने गरेको पाईएको छ। न्यायलयमा न्यायाधीशको नियुक्ति प्रक्रियाका कारण भ्रष्टाचार बढेको निष्कर्ष सर्वोच्च अदालतको एक अध्ययन समितिले निष्कर्ष निकालेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको विकृतिविहीन न्यायपालिका सम्बन्धी गठित समितिले तयार पारेको प्रतिवेदनमा न्याय परिषद्को संरचना राजनीतिक खालको भएकाले सक्षम न्यायाधीश नआउने र न्यायाधीश नियुक्तिदेखि नै भ्रष्टाचार सुरू हुने भनिएको छ।
१ वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा न्यायाधीश नियुक्तिदेखि नै समस्या रहेको र न्यायिक नेतृत्वले चाहेमा सुधार गर्न सक्ने विषय उल्लेख गरेको हो । अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायलयमा भएका त्रुटि सच्याउनका लागि प्रतिवेदनमा सुझाव दिइएको बताउनुभयो । न्यायाधीशहरूको रोहबरमा प्रधानन्यायाधीशलाई हिजो प्रतिवेदन बुझाइएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेश्नलका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले प्रतिवेदनको कार्यान्वयन हुन सके मात्र न्यायलयमा भएका विकृतिको अन्त्य हुने बताउनुभयो । प्रतिबेदनले न्यायाधीश नियुक्ति प्रक्रियालाई विसंगतिको प्रमुख कारकको रूपमा औँल्याएको स्रोतले बताएको छ । प्रतिवेदनमा न्यायाधीशको सरुवा र काज, न्यायाधीशमाथिको कारबाहीमा असमानता, विचौलियाका कारण भ्रष्टाचार बढेको औँल्याएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस