ओलीको हालत दुर्योधनको जस्तो भयो : रंगमती शाही

फिल्को मिसन

२०७८ श्रावण,१५ गते शुक्रबार
काठमाण्डोैं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले संविधान सभाका अध्यक्ष एवम् नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई शुकनीको संज्ञा दिएकी छन्।
प्रतिनिधि सभा बैठकको विशेष समयमा शाहीले महाभारतको कथाको पात्र शकुनीको रोल नेम्वाङले निभाएको बताएकी छन । ’जनताले संविधानको अभिभावक भनेर संविधान सभा अध्यक्षलाई चिन्ने गरेका थिए। संविधानको धारा ७६ को ५ मा लेख्दै गर्दा को संविधान सभा अध्यक्ष हुनुहुन्थ्यो मलाई थाहा छैन। म त्यतिबेला सदस्य थिइनँ’, शाहीले भनिन्, ’संविधान सभाको अध्यक्षले परामादेशको सरकार भन्दै हुनुहुन्छ। अध्यक्षज्यू नै शकुनीको रोलमा हुनुहुन्छ त शकुनीको रोल खेल्दै गर्दा दुर्योधनको हालत के भएको थियो।’ उनले दुर्योधनको रूपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गरिन्।
’शकुनीको रोल खेल्दा बालाई बालुवाटारदेखि बाजागाजासहित बार्दली पु¥याउन सफल हुनुभयो। यसका लागि पनि म धन्यवाद दिन्छु। अहिले शकुनीको रोल खेल्दै गर्दा दुर्योधनको जस्तो हालत हाम्रो पूर्वप्रधानमन्त्रीको भयो’, शाहीले भनिन्। उनले महाभारतमा द्रौपदीको वस्त्र हरण भए जसरी प्रतिनिधि सभा भंग गरिएको टिप्पणी गरिन्। ’महाभारतको कथा हेर्दै गर्दा द्रौपदीको जसरी वस्त्र हरण भएको थियो भगवान् श्रीकृष्ण आएर वस्त्र दिएर बचाइदिनु भएको थियो’, शाहीले भनिन्, ’वस्त्र हरण भएको जस्तो हामी प्रतिनिधि सभाका सदस्य भएका थियौं। अदालतले श्रीकृष्णको रूपजस्तै लिएर वस्त्र लगाउने काम अदालतले ग¥यो।’ उनले महाभारतको उक्त घटनामा शकुनीको रोल रहेको टिप्पणी गरिन्। साथै अहिलेको सरकारलाई पाँच पाण्डवको सरकारको संज्ञा दिइन्।
सत्तारूढ गठबन्धनमा अहिले पाँच वटा पक्ष छन्। गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई उनले पाण्डवको सरकार भएको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस