जेठ महिना यता विपतमा ६६ जनाको मृत्यु, ६१९ घर पूर्ण क्षति

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । आज बसेको राष्ट्रियसभाको बैठकमा गृह मन्त्रालयले जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको सार्वजनिक गरेको छ । गृह मन्त्रालयका अनुसार २०७८ जेठ महिनायता हालसम्म मनसुनजन्य विपतका घटनामा परि ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले तथ्याङ्क प्रस्तुत गर्दै मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएको बताउनुभयो ।
विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्ण रुपमा र १ सय ६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए ।
३ सय ३८ घर पूर्णरुपमा क्षति भएको छ भने ७ वटा पुल, १४ वटा झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । यस्तै जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा यही साउन १६ र १७ गते राति फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पु¥याएको छ ।
लेदो, गेग्रान सहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुङ्गे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिनुभयो । हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस