सभामुख सापकोटाद्धारा क्षतिग्रस्त पुरानो संसद भवनको अवलोकन

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुरानो संसद भवन (ग्यालरी बैठक) को पुरातात्विक महत्व कायम राख्दै अधिकतम सदुपयोग गरिने बताउनु भएको छ ।

आज सिंहदरबास्थित भवनको अवलोकन पश्चात सञ्चारकमीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले यसको पुरातात्विक महत्व कायम राख्दै संरक्षण गर्ने तयारी रहेको जानकारी दिनु भयो । उहाँले ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण भवनको अवलोकनका क्रममा यसको प्राविधिक अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनु भयो ।

२०७२ साल वैशाखको भुकम्पका कारण जीर्ण अवस्थामा रहेको भवन सदुपयोग गर्ने प्रक्रिया प्रारम्भ गर्न अवलोकन गरिएको जानकारी दिंदै उहाँले पुरै पुनर्निर्माण गर्ने वा रेक्ट्रो फिटिङ् गर्ने भन्नेबारे प्राविधिकहरुसँग सल्लाह गरेर अघि बढ्ने बताउनु भयो । सभामुख सापकोटाले भवनको महत्वलाई आत्मसाथ गरेर अधिकतम सदुपयोग गर्न छिट्टै निर्माणको काम सुरु हुने जानकारी दिनु भयो ।

भवनको सदुपयोगका सम्बन्धमा थुप्रै सुझाब प्राप्त भएको जानकारी दिंदै सभामुख सापकोटाले यसलाई संग्रहालय र पुस्तकालयका रुपमा विकास गर्ने सल्लाह आफूलाई सबैभन्दा उपयुक्त लागेको बताउनु भयो । आजै देखि सम्बद्ध पक्षसँग छलफल आरम्भ गरेर कुन रुपमा सदुपयोग गर्ने भन्ने निष्कर्षमा पुगिने उहाँको भनाई छ । सभामुख सापकोटाले यसको मूल स्पिरिट भवनको पुरातात्विक महत्व स्थापित गर्नु रहेको जानकारी दिनु भयो ।

संसद सचिवालयले स्टोरका रुपमा प्रयोग गरिरहेको ग्यालरी बैठकमा २०१५ सालको पहिलो संसददेखि २०६२ र ६३ को अन्तरिम संसदसम्मका बैठकहरु सञ्चालन भएका थिए । राष्ट्रिय पञ्चायतको बैठक समेत हुने सो भवन २०७२ बैशाख १२ को भूकम्पपछि बन्द र अलपत्र अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस