आदिवासी जनजातिको अधिकार सुनिश्चित : प्रधानमन्त्री
२०७८श्रावण,२५ सोमबार
काठमाडौं, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघद्धारा आज २३ औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गर्नु भयो । प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो हकको सदुपयोग गर्नु जरुरी छ ।’ नेपाल धेरै जातजातिको फूलबारी भएको उल्लेख गर्दै उनले सबै जातिहरु मिलेर बसेको हुँदा विश्वकै लागि नेपाल भेषभूषा, संस्कृति र भाषामा आकर्षणको केन्द्र भएको बताए । ‘प्रत्येक जातिको अलग भाषा, संस्कृति, भेषभूषा छ, ती सबैको संरक्षण गर्नुपर्छ, त्यो नै आदिवासी जनजातिको पहिचान हो’–प्रधानमन्त्री देउवाले भने ।स्थानीय तहको निर्वाचनमा पनि महिला, जनजाति, दलित र पछाडि परेको क्षेत्रका लागि विशेष व्यवस्था गरेको भन्दै उनले सबै जातिको हक अधिकार सुनिश्चित गर्न पहल भइरहेको बताए ।