मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदै

फिल्को मिसन

२०७८ श्रावण,२७ बुधबार
रुपेन्देही । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजका लागि बोलाइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे विशेष अधिवेशन बोलाइएको हो । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले साउन १९ गते मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको दर्ता गरेको थियो । अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि हिजो सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि अविश्वास प्रस्तावमाथि छलफल नरोकिने निश्चित भएको हो ।
विशेष अधिवेशनको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अविश्वासको प्रस्ताव टेबुल भएपछि आजै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ । विपक्षी दल नेपाली काँग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस