विद्युतीय खोप प्रमाणिकरण कार्ड वितरणमा ढिलाइ

फिल्को मिसन

२०७८ श्रावण,२८ बिहीबार

काठमाण्डौं । सरकारले साउन २१ गते देखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि आवेदन धेरै परेपछि वितरणमा ढिलाइ भएको छ ।
विद्युतीय प्रमाणीकरण खोप समयमै उपलब्ध गराउन नसक्दा वैदेशिक रोगजारमा जानेहरुले समस्या भोग्नुपरेको बताएका छन् । स्वास्थ्य सेवा विभागका खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार चार दिनमा १७ हजार जनाले आवेदन दिएकाले वितरणमा ढिलाइ भएको छ । कर्मचारीको थप व्यवस्थापन र अनलाइन फारम भर्न सहयोग गरेर छिटो सेवा दिने गरी काम सुरु गरेको उहाँको भनाइ छ ।

क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र विना विदेश प्रवेशमा रोक लगाएपछि खोप प्रमाणीकरण कार्ड लिन एक सातादेखि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा लाइन लाग्ने गरेको छ । मन्त्रालयले हालसम्म करिव चार हजार जनालाई क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गरिसकेको जनाएको छ ।
मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस