भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै

फिल्को मिसन

२०७८ श्रावण २९गते शुक्रबार
काठमाण्डौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ । सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक रुपमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो । अहिले भारतमा कुल सङ्क्रमित मध्ये १ दशमलब २ प्रतिशत सङ्क्रमितहरु मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार एक सय २० जना नयाँ सङ्क्रमितहरु थपिएका हुन् । भारतमा अहिले सम्म कोरोना भाइरसबाट तीन करोड २१ लाख १७ हजार आठ सय २६ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार लाख ३० हजार दुई सय ५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस