आज देशका अधिकांश स्थानमा मौसम बदली रहने
२०७८ श्रावण ३०गते शनिबार
काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको बताएको छ ।
महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
यस्तै, आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विदहरुले आग्रह गरेका छन् ।