नेकपा माओवादीको प्रवक्तामा महरा

२०७८भद्रा,९बुधबार
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । त्यस्तै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी समेत महरालाई दिइएको छ।
माओवादीले भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा महरालाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः अस्तित्वमा ल्याइदिएपछि नेता नारायणकाजी श्रेष्ठले माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गदै आउनुभएको थियो ।
श्रेष्ठलाई पार्टीले प्रवास समिति ईञ्चार्ज तोकेको छ। यो समितिको अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ।
यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन्। माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु पनि तोकेको छ । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफै र प्रमुखमा गिरिराजमणि पोखरेल छन्।
प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की , प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई तोकिएको छ।