नेपाल र ठाकुरको पार्टीले पायो नयाँ दलको मान्यता

फिल्को मिसन

२०७८भद्रा,९बुधबार
कठमाण्डौं । माधव नेपालको नेतृत्वमा रहेको नवगठित नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका थिए ।सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५४ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गराउनुभएको छ । भारतमा उपचारको क्रममा रहेका उहाँले दूतावास मार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाउनुभएको हो ।
यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्किएका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै ठाकुर नेतृत्वको पार्टीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उहाँको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस