जयसिंह धामीको बारेमा सार्वजनिक गर्न सत्ता पक्षका नेताहरुको माग
२०७८ भाद्र ,१४ सोमबार
काठमाण्डौं । तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । साथै उनीहरुले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणको बारेमा छानविन प्रतिवेदन सार्वजनिक हुन ढिलाइ भैरहेको भन्दै नागरिक तहबाट असन्तुष्टि सुरु भएको छ । सत्ता पक्षका नेताहरुले पनि यस बारेमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
साथै उनीहरुले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण पनि गराएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइ र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री देउवाले भने छानविन प्रतिवेद नबनेपछि सबै कुरा बाहिर आउने बताउनुभएको थियो ।
बैठकमा एकीकृत समाजवादीका नेता,जसपाका नेता डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका थिए । गत साउन १५ गते महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तुइनको तार खुस्काइदिदा जयसिंह धामी महाकालीमा खसेर वेपत्ता हुनुभएको थियो ।
त्यसको केही दिनपछि सरकारले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेपनि अहिलेसम्म प्रतिवेदन तयार गर्न सकेको छैन । सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा भने गरिसकेको छ ।