नेपालसँग कुनै सीमा विवाद छैन, कसले गरयोे उछाल्ने काम: चिनियाँ प्रवक्ता

फिल्को मिसन

२०७८भाद्र,१९ शनिबार
काठमाडौं । चीनले नेपालसँगको सीमालाई लिएर कुनै विवाद नरहेको बताएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले हिजो साँझ विज्ञप्ति जारी गर्दै सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् ।
‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’
चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाएको छ ।
केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ ।
दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ ।
हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस