नेकपा एकीकृत समाजवादीद्वारा नेताहरुको जिम्मेवारी बाँडफाँट

फिल्को मिसन

२०७८भाद्रा २०आईतबार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो।
केही दिनअघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ ।
केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।
त्यसैगरी प्रदेश इन्चार्जहरुमा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्ज डा. विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास इन्चार्जमा श्रीप्रसाद साहलाई तोकेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको दस्तावेज मस्यौदा समितिका सदस्यहरुमा क्रमशः डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन् ।
मस्यौदा समितिले छिट्टै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्ने बताइएको छ । गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको सो पार्टीको २ पटक बसेको स्थायी कमिटी बैठकले यी निर्णयहरू गरेको नेता भुसालले बताए । एकीकृत समाजवादीको स्थायी समितिमा अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस