वाईसीएलको संयोजकमा देवकोटा चयन
२०७८भाद्र,२२मंगलबार
काठमाडौँ नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । राष्ट्रिय भेलाबाट निर्वाचित २०४ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै अगाडि बढ्न प्रस्ताव गरेका थिए । मंसिर ८ वा फागुन १ मा राष्ट्रिय सम्मेलन गर्ने गरी केन्द्रीय समितिमालाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने, देवकोटालाई संयोजक र सुबोध शेर्पालीलाई सहसंयोजक बनाउने उनको प्रस्ताव थियो ।बैठकले प्रचण्डको प्रस्ताव पास गरेको छ । २३१ सदस्यीय केन्द्रीय सदस्यका बाँकी सदस्यहरुको मनोनयन र कार्यविभाजन आगामी बैठकले गर्ने नेताहरुले बताएका छन् ।
वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले ४० वर्षे उमेर हद पार गरेका कारण हालै भएको राष्ट्रिय भेलामा विदा लिएका थिए । माओवादी केन्द्रले सहमतिका आधारमा नेतृत्व चयन गर्न पनि निर्देशन दिएको थियो ।
अध्यक्षका दावेदार देवकोटा र शेर्पालीबीच सहमति जुट्न सकेन र, २०४ केन्द्रीय सदस्य चयन मात्र गरेको थियो ।वाईसिएलेको पहिलो राष्ट्रिय सम्मेलनबाट अध्यक्षको दाबीमा उम्मेदवारहरुबीच सहमति नभएपछि सम्मेलन स्थगित भएको थियो । नेतृत्व लिने विषयमा विवाद भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आफैले उक्त विवाद समाधानको जिम्मा लिएको थियो ।