एमाले अध्यक्षमा भारी मतले विजयी केपी ओली
२०७८ मंसिर १४विहीबार
चितवन । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका छन्।
अर्का प्रत्यासी भीम रावललाई १हजार ५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले १हजार ८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा २हजार १ सय ५३ मतदातामध्ये २हजार १ सय १४ मत खसेको थियो।
मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो। संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ।
तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्य पदमा सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका छन ।