राप्रपा महाधिवेशन आज शुरु, थापा र लिङ्देन मैदानमा

फिल्को मिसन

२०७८ मंसिर १५ बिहीबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ ।
थापा नेतृत्वको राप्रपा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीको नेतृत्वको राप्रपा विचमा संयुक्त एकता भएपछि पहिलो पटक राप्रपाको एकता महाधिवेश हुन लागेको हो । काठ्माडौँ भृकुटिमण्डपमा हुने महाधिवेशनमा भाग लिन देशभरबाट ४ हजार ३ सय ८५ प्रतिनिधि सहभागी हुने राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले बताए ।
महाधिवेशनबाट यस पटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले आकांक्षा देखाउनुभएको छ । लिङ्देनले यसअघि नै अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताइसक्नुभएको छ भने थापाले पनि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका लिङ्देनलाई डाक्टर लोहनी र जबराले पनि समर्थन गर्नुभएको छ ।
राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । १ सय ९९ जनाको कार्यसमितिमा १ सय ४९ निर्वाचनबाटै चुनिने छन् । तर, आजबाट तीन दिनसम्म चल्ने महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई मात्रै निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिनेगरी विधान संशोधन गरिएको हो ।
राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र १ जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । जसमध्ये अध्यक्ष, १ महिलासहित ३ जना उपाध्यक्ष, १ महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस