६२ जिल्लामा कांग्रेसले सक्यो अधिवेशन, कुन पक्ष बलियो (नामावली सहित)

फिल्को मिसन

२०७८ मंसिर १५ बुधबार
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ६२ जिल्लामा नयाँ नेतृत्व चयन भएका छन । बुधबारसम्म आएको ६२ जिल्लाको नतिजा सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवाको वर्चश्व देखिएको छ ।
लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो देखिएका छन् । कोइराला परिवारको गण मानिएको प्रदेश १ र पौडेलको गृह प्रदेश गण्डकीमा देउवा पक्ष हाबी भएको छ । प्रदेश १ र गण्डकीमा नेता कृष्णप्रसाद सिटौला पक्षले पनि जिल्ला नेतृत्व हात पारेको छ । देउवा पक्षले ३३, पौडेल पक्षले २६ र सिटौला पक्षले २ जिल्ला सभापति जितेको छ ।
बुधबारसम्ममा प्रदेश १ का १४ र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । प्रदेश २ मा नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । प्रदेश २ मा बुधबार पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ ।
बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन । चितवनमा बुधबार जिल्ला अधिवेशन गर्ने तालिका भएपनि निर्वाचन अधिकृतले राजीनामा दिएपछि अन्योलता सिर्जना भएको छ ।
यस्तै, मकवानपुर र सिन्धुपाल्चोकमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने भएको छ । गण्डकीमा प्रदेशको नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने तयारी छ । जिल्ला अधिवेशन सम्पन्न नभएका १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइरहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस