कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुदै

फिल्को मिसन

मंसिर २४, २०७८
काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ।
महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्था तथा विदेशबाट गरी ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशन उद्घाटनका लागि २ सय ५० जना अट्ने मञ्च बनाइएको छ ।
मञ्चको पहिलो लहरमा ४० जनासम्म कलाकारले एकैपटक प्रस्तुति राख्ने बताइएको छ । यसैगरी, दोस्रो लहरमा पार्टीका शीर्ष नेता तथा अन्य दलका प्रमुख र विदेशी पाहुना राख्ने गरी मञ्च व्यवस्थापन गरिएको काठमाडौं काँग्रेसका सभापति सबुज बानियाँले बताए ।
उहाँका अनुसार तेस्रो लहरमा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूलाई व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ । यसैगरी, मञ्च पछाडि एउटा एलईडी डिजिटल बोर्ड र दायाँबायाँसमेत गरी तीनवटा डिजिटल बोर्ड राखिएको छ । यस्तै भृकुटीमण्डप बाहिर सडकमासमेत दुईवटा डिजिटल बोर्ड राखिएको छ ।
महाधिवेशन उद्घाटन स्थलमा १ हजार स्वयंसेवक मञ्चको आसपासमा खट्ने छन् । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा नेता कार्यकर्तालाई स्वागत गर्न कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजुमा गरी १४ वटा स्वागतद्वार बनाइएको छ । यस्तै, महाधिवेशन स्थल भृकुटीमण्डप आसपासका विभिन्न स्थानमा १२ ओटा स्वागतद्वार बनाइएको छ । यस्तै महाधिवेशनमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ । महाधिवेशनमा जनस्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्यकर्मी पनि परिचालन गरिनेछ । पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ । समितिमा चिकित्सक, नर्स तथा प्यारामेडिक्स गरी २६ जना रहेका छन् ।
मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यक बाट १, अपाङ्गबाट १ सदस्य गरी कुल १सय ३४ पदाधिकारी र सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस