एमालेको सचिवालय र केन्द्रिय कमिटिको बैठक आज

फिल्को मिसन

मंसिर २५, २०७८
काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रिय कमिटिको बैठक आज बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ११ बजे सचिवालय बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्ले बताए ।
त्यसपछि दिउँसो १ बजे केन्द्रिय कमिटी बैठक बस्ने तयारी रहेको उहाँले बताउनुभयो । गठ्ठाघरस्थित एक रिसोर्टमा बस्ने बैठकले स्थायी समिति र पोलिटब्यूरो गठन गर्नेछ । यस्तै सदस्यहरुको कार्यविभाजन गर्ने र पार्टीको आगामी कार्ययोजनाबारेमा छलफल हुने छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटीको गठन हुनेछ ।
यस्तै केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारणबारे पनि छलफल हुने एमालेले जनाएको छ ।विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस