हुम्लामा पुनः हिमपात,तापक्रम माइनस ११, किसान भने खुशी

फिल्को मिसन

पुस१२,२०७८
सिमकोट । हुम्लामा पुनः भारी हिमपात भएको छ । आइतबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ । आइतबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि बिेलुकीबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात सुरु भएको हो । हिमपातपछि जिल्लाको तापक्रम माइनस ११ डिग्री सेल्सीयसमा झरेको छ ।
हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोट भन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिट सम्म हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । हिजो राती देखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा चिसो अत्याधिक बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिका वडा अध्यक्ष पाल्जोर तामाङ बताए । उनका अनुशार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ ।
तामाङका अनुसार हिउँले लिमिकोे तापक्रम माइनस १३ पुगेको र आइतबार बेलुका ७ बजेदेखि निरन्तर रुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको बताए । हिउँसँगैको हावाहुरी चलेकै कारण घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन् भने जाडोले पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको जनाकारी दिनु भयो ।
                                                                                       हिमपात हुँदा किसान भने खुशी
समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष पुस महिनामा मात्र हिमपात भएको छ । सोमबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् ।
लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान वर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन् ।
“यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ”, हुम्ला ताँजकोट गाउँपालिकाका किसान परमल परियारले भने, “एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ ।” हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको बताए । अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान जिल्ला प्रशासन कार्यालयले प्रशासन हुम्लाले आग्रह गरेको छ ।
चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो । हुम्लामा यो वर्ष दोश्रो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो । यहाँका नाम्खा गाउँपालिाका, सिमकोट गाउँपालिका, खार्पुनाग ,सर्केगाढ गाउँपालिका,चंखेली गाँपालिका,अदनचुली गाउँपालिका र ताँजकोट गाउँपालिकाका माथिल्लो हिमाली क्षेत्रमा आईतबार रातिदेखि नै हिमपात भएको छ भने तलो क्षेत्रमा वर्षा भएको छ । लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस