दोस्रो जितको खोजीमा आर्मी, पुलिस र बागमती आज पनि ४ खेल हुँदै

पुस २७,२०७८
काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा एकै समयमा दुई खेल हुनेछन् । टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछ । यस्तै मुलपानीमा हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ भने दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।