गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार
माघ४,२०७८
सिमकोट । हुम्लामा एक गर्भवती महिलको अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टर मार्फत उद्धारगरी उपचारका लागि सुर्खेतमा ल्याइएको छ ।सेर्केगाड गाउँपालिका–३ की ३० वर्षीया ज्ञानी कार्कीको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पातलमा सुर्खेतमा ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार सुत्केरी हुने समय अवधि नपुग्दै अत्याधिक रक्तश्राव भएपछि उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्यकर्मीले बाहिर लैजान सल्लाह दिएपछि नेपाली सेनाको हेलिकप्टर बोलाएर सोमबार वेलुका सुर्खेत पठाइएको प्रजिअ आचार्यले बताए। हुम्ला स्वाथ्य कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले हेलिकोप्टर उद्धारका लागि लागेको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्नेे बताएकी छन् ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गममा रहेका महिलालाई उद्धार गर्ने गरिएको छ। सडक सञ्जालसँग नजोडिएको र भरपर्दो स्वास्थ्य संस्था नहुँदा दुर्गमका महिलाले सास्ती खेप्न बाध्य छन्।